Logo
Logo

पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन : डा. शेखर कोइराला


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोजे आत्मघाती हुने बताएका छन् । नयाँ वर्ष २०८२ शुभकामना दिँदै उनले धारणा व्यक्त गरेका हुन् ।

फाइल फोटो

नेता कोइरालाले कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जामा’ जाने खतरा देखेको समेत बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘विपी कोइरालाले भन्नु भएझैँ कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जामा’ जाने खतरा छ । र म त्यो देख्दैछु ।’ पार्टीको अगुवाईमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’को अभियान चलाउन आवश्क रहेको उनको भनाइ छ ।

उनले यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष भएको बताउँदै भनेका छन्, ‘कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ । यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु ।’ एकपटक आफू र आफ्नो दलभन्दा देश र जनतामाथि छन् भन्ने सोचले काम गरेमात्रै देशले निकास पाउने उनको भनाइ छ ।

वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।

उनले भने, ‘नेपाली राष्ट्रियता, धर्म–संस्कृति र समृद्धिको लागि एकपटक फेरि नेपाली कांग्रेसमा पुनर्जागरणकाल जगाउनुपर्नेछ । यो तबमात्र सम्भव छ, जब कांग्रेसका साथीहरु जाग्नेछन् । कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियता बिना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव छैन ।’

नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो हुने उनको तर्क छ । ‘कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्