काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै यस वर्षलाई’नवीन आशा र विश्वासको प्रतीक’ तथा ‘समृद्धिको ऐतिहासिक ढोका’बनाउन सबैलाई आह्वान गरेकी छन् ।

उनले शुभकामना सन्देशमार्फत विगतका असमझदारी, निराशा र अवरोधलाई भुल्दै सकारात्मक ऊर्जा र नयाँ सङ्कल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । ‘देश, समाज र व्यक्तिगत भविष्यलाई सुरक्षित, सुनिश्चित, सुन्दर र गतिशील बनाउन नयाँ वर्षले प्रेरणा प्रदान गरोस्,’भण्डारीको सन्देशमा उल्लेख गरिएको छ ।
उनले नेपाली जनताले लामो समयसम्म सहनुपरेको सामन्ती उत्पीडनको विरुद्धमा ऐतिहासिक बलिदान र सङ्घर्ष गर्दै आएको स्मरण गर्दै अझै बाँकी रहेका अवशेषहरू अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अगाडि बढ्नुपर्ने बताइन् ।
भण्डारीले भनिन्, ‘हामीले आफ्ना घरायसी समस्याहरू समाधान गर्न जनजागरण, दबाब र सङ्घर्ष मात्र होइन, संवाद, सहमति र सहकार्यको मार्ग पनि रोजेका छौँ। यी प्रयासहरू भविष्यमा पनि निरन्तर रहनुपर्छ ।’
युवाहरूको विदेश पलायन, बेरोजगारी, सुशासनको अभावजस्ता चुनौतीहरूको उल्लेख गर्दै उनले सामाजिक–आर्थिक रूपान्तरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस प्रयास आवश्यक भएको बताइन् ।
संविधान र व्यवस्था परिवर्तनपछि पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएकोप्रति चिन्ता व्यक्त गर्दै भण्डारीले आत्मसमीक्षाको खाँचो औँल्याइन् । ‘अब केवल चिन्तन गरेर होइन, इमान्दार प्रयासमार्फत जनआकांक्षा पूरा गर्नुको विकल्प छैन,’ उनले भनिन् ।
उनले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई नेपालको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्तको रूपमा उल्लेख गरिन् । ‘यो सिद्धान्त केवल सत्तामा पुग्न होइन, जनताको जीवनस्तर परिवर्तन र राष्ट्रको गौरव बढाउनका लागि हो,’पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो ।
सन्देशमा भण्डारीले भनिन्, ‘राष्ट्रहितभन्दा ठुलो केही हुँदैन। जनताको अनुहारमा मुस्कान ल्याउनु नै सबैभन्दा ठुलो खुसी हो। नयाँ वर्ष सबैका लागि आशा, सङ्कल्प र समर्पणको प्रेरणा बनोस्।’