Logo
Logo

धरानमा निःशुल्क पानीको आशामा बसेका तामाङको धारा काटियो


504
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्देशनमा धरान–१५ निवासी इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको छ । नगर प्रहरीले पूर्व सूचना नदिई धारा काटेको तामाङको गुनासो छ ।

 

हर्क साम्पाङ मेयर बन्नुअघि खानेपानीको अधिकार सुनिश्चित गर्नका लागि गरिएको आन्दोलनमा सक्रिय रहेका तामाङ चुनावताका साम्पाङलाई जिताउन रातदिन खटिएका थिए । त्यही विश्वासमा उनले आफ्नो घरको पानीको महसुल बुझाएका थिएनन् । साम्पाङले चुनावका क्रममा सम्पूर्ण धरानवासीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने प्रतिज्ञा गरेका थिए ।

सोमबार नगर प्रहरीले तामाङको घर पुगेर पानीको धारा बन्द गरिदिएको थियो । प्रहरीले मेयरको आदेशअनुसार उक्त कारबाही गरिएको जनाएको छ । तामाङले लामो समयदेखि पानीको विल पनि नतिरेको पाइएको छ । 

तामाङले यसअघि मेयर साम्पाङको कार्यकक्षमै गई महसुल मिनाहा गर्न अनुरोध गरेका थिए । त्यहाँ दुबैबिच भनाभन समेत भएको थियो । तामाङले त्यो भनाभनलाई व्यक्तिगत रिसइवी बनाउँदै साम्पाङले पानीको धारा बन्द गर्न लगाएको  आरोप लगाएका छन् । तामाङको घरमा ४३ हजार रुपैयाँ बराबरको खानेपानी महसुल बक्यौता रहेको बताइएको छ ।

चुनावमा साम्पाङले गरेको निःशुल्क खानेपानीको वाचा अहिले विवादको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्