काठमाडौं । एफसी चितवनलाई पराजित गर्दै काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ सम्भावना जिवित्तै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा काठमाडौंले चितवनलाई २–० ले पराजित गरेसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौंले ६ खेलबाट आठ अङ्क पुर्याएको छ ।

धनगढीको पनि समान आठ नै अङ्क छ । तर, गोलअन्तरमा धनगढी अगाडि छ । ११ अंकसहित ललितपुर प्लेअफमा पुगिसकेको छ । धनगढीले दुई र ललितपुरले एक खेल खेल्न बाँकी छ । एक खेल नै खेल्न बाँकी रहेको चितवनको भने सात अङ्क छ ।
अब काठमाडौंले पोखरा र झापाको नतिजामा भर पर्नुपर्नेछ । एक खेल खेल्न बाँकी पोखराको पाँच र दुई खेल खेल्न बाँकी झापाको चार अङ्क छ । झापाले सोमबार नै धनगढीलाई चुनौती प्रस्तुत गर्दै छ ।
काठमाडौंलाई जित दिलायन बकारी माने र अमडोउ डिओपले गोल गरे । जारी लिगमा चितवनले दोस्रोपल्ट गोल खाएको हो । यसअघि ललितपुरसँग पहिलो गोल खाँदा चितवन २–१ ले पराजित भएको थियो ।