Logo
Logo

वन प्रशासनको ढिलाइले २१० मेगावाटको जलविद्युत् आयोजना एक वर्षदेखि अलपत्र


819
Shares

काठमाडौं । बझाङको तलकोट गाउँपालिका–२ र ५ मा निर्माण हुँदै गरेको २१० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम वन प्रशासनको ढिलाइका कारण एक वर्षदेखि अलपत्र बनेको छ ।

२०७९ मङ्सिर देखि सुरु भएको यो आयोजना सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो जलविद्युत् परियोजना मानिन्छ । तर, आयोजनास्थलसम्मको पहुँच मार्गमा पर्ने करिब ४२०० रुख काट्न डिभिजन वन कार्यालयको अनुमति नआएको र जग्गाको भोगाधिकारसम्बन्धी प्रक्रिया अपूरो भएको भन्दै निर्माण कार्य ठप्प भएको छ।

चैनपुर सेती जलविद्युत् कम्पनीले आयोजनाको जिम्मा लिएको भए पनि वनसम्बन्धी कानुनी प्रक्रियाले काममा अड्चन छ । डिभिजन वन कार्यालय बझाङका तत्कालीन प्रमुखले सडक निर्माणका लागि अस्थायी सहमति दिएका थिए । तर, हाल कार्यरत प्रमुखले उक्त सहमति गैर कानुनी भएको भन्दै निर्माण कार्य रोक्न निर्देशन दिएका छन् ।

कम्पनीका निर्देशक अनिल श्रेष्ठका अनुसार आयोजनाको लागि आवश्यक कागजातहरू वडास्तरबाट डिभिजन वन कार्यालयसम्म पुर्‍याइएको छ । कर्मचारीहरूले स्थलगत निरीक्षण पनि गरेका छन् र रुखहरूको तथ्याङ्क सङ्कलन गरिसकेका छन् । तर, फाइल अझै सङ्घीय सरकारमा पठाइएको छैन, जसका कारण मन्त्रिपरिषद्को निर्णय हुन सकेको छैन ।

तलकोट गाउँपालिकाका अध्यक्ष कलकबहादुर रोकायाले वन प्रशासनको लचकता नदेखिएकाले प्रदेशकै महत्त्वाकाङ्क्षी आयोजना जोखिममा परेको बताएका छन् ।

शून्य दशमलव ९ हेक्टर क्षेत्रफलमा जलाशय निर्माण गरी विद्युत् उत्पादन गरिने लक्ष्यसहित निर्माण भइरहेको यस आयोजनाले पाँच वर्षमा निर्माण पूरा गर्ने योजना बनाएको छ । विद्युत् खरिद–बिक्री र प्रसारण लाइन विस्तारसम्बन्धी प्रक्रिया भने अगाडि बढिरहेको छ । रुख नभएको क्षेत्रमा सुरुङ (टनल) निर्माणको काम केही हदसम्म जारी छ । 

प्रतिक्रिया दिनुहोस्