काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ दिन भनेको छ । पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको छलफलले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने निर्णय गरेको हो ।

देउवानिवास बुढानीलकण्ठमा भएको छलफलले महाधिवेशन गर्न नसक्नुको कारण र हालसम्म गरेका कार्यको विवरण माग्ने निर्णय गरिएको हो । हालसम्मको कार्य प्रगतिबारे भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टीबाट गठन भएको निर्देशक समिति र सम्बन्धित संस्थाको अध्यक्षले लिखित जवाफ पठाउनुपर्ने छ ।
लामो समयदेखि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भङ्ग गर्ने तयारीमा कांग्रेस रहेको छ । त्यसअघि सात दिनभित्र लिखित जवाफ मागिएको हो ।
कांग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । पार्टीले उपलब्ध गराएको समयसीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर सङ्घमा तदर्थ समिति समेत छैन ।
प्रमुख भ्रातृ संस्थाका रूपमा परिचित नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासङ्घ, दलित सङ्घ, तामाङ सङ्घ र मगर सङ्घ छन् ।
यसबीचमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ, लोकतान्त्रिक अपाङ सङ्घ, भूतपूर्व सैनिक सङ्घ, प्रजातान्त्रिक सेनानी सङ्घ र मुस्लिम सङ्घले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् ।