
काठमाडौं । सुनसरीमा सोमबार साँझ भएको गोली प्रहार घटनामा संलग्न सबै जना तस्कर भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोली हान्ने र घाइते हुने दुबै तस्कर रहेको अनुसन्धानका क्रममा खुलेको हो ।
गाोली लागेर सुनसरीको देवानगञ्ज गाउँपालिका– ७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् । प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रवीनकुमार यादव र पिन्टु यादव छन् ।
त्यस्तै गोली हान्ने मध्येका अर्का कामेश्वर यादव सहितका तीनजना फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
शिवकुमार मेहता पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका थिए । घटना लेनदेनसँग समेत जोडिएको र उनीहरु सबैजना आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुबीच तस्करीको रुपैयाँको लेनदेनमा कुरा नमिल्दा पछिल्लो घटना भएको देखिएको एसपी तिम्सिनाले बताए ।
गोली लागेर घाइते भएका शिवकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।