
काठमाडौं । सशस्त्र प्रहरीका एआईजी चन्द्रप्रकाश गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनी ३० वर्षे सेवा अवधिका कारण मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।
पछिल्लो समय सीमा सुरक्षा विभाग प्रमुखको रुपमा कार्यरत गौतम अवकाशमा जान लागेपछि सशस्त्र प्रहरी हेडक्वाटरले आजै दिउँसो ३ बजे बिदाइ समेत गर्दैछ । २०५२ वैशाख ३ मा उनी नेपाल आर्मीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी गठन हुने भएपछि उनी २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएर आएका थिए ।
उनी अवकाशमा जाने भएसँगै सशस्त्रमा रिक्त हुने एक एआईजी पदमा बढुवा हुने बाटो खुलेको छ । त्यसका लागि केहि समयअघि मात्रै पदावधी थपिएका चार डीआईजीहरु प्रतिस्पर्धामा छन् । जसमा कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी प्रतिस्पर्धामा छन् । उनीहरुसँगै सि. सं १ का टोलीहरु पनि एआईजीको प्रतिस्पर्धामा छन् ।
रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति भावि सशस्त्र प्रहरी प्रमुखको मुख्य दाबेदार हुन्छन् । त्यसैले पनि यो बढुवा निकै पेचिलो हुने देखिन्छ ।