काठमाडौं । देशका विभिन्न स्थानमा प्रहरीले अवैध तथा नियन्त्रित लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना विदेशी नागरिक समेत रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटमा सोमबार राति चेकजाँचका क्रममा भारतीय नागरिक २७ वर्षीय विशाल विजयनको लगेजबाट करिब ६ किलो ९७० ग्राम गाँजा फेला परेको हो । उनी थाई एयरको उडानबाट बैंकक हुँदै काठमाडौं आएका थिए ।
सुनसरीको धरान उपमहानगरपालिका-१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल र स्पास्पेन ट्याब्लेट २०५-२०५ थानसहित ३३ वर्षीय सुमन राईलाई सोमबार राति पक्राउ गरिएको छ । उनलाई अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट करिब १२ किलो गाँजासहित २४ वर्षीय कमल प्रजा र २९ वर्षीया सुमित्रा प्रजालाई पक्राउ गरिएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.७ ख १५८७ नम्बरको गाडी जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–३ बाट सोमबार दिउँसो करिब १६ ग्राम ३४० मिलिग्राम अफिमसहित भारतीय नागरिक ३९ वर्षीय कुलदीप सिंह र ६० वर्षीय बेचनलाल पाशमानलाई पक्राउ गरिएको छ । उनीहरू भारतबाट यूपी २६ एडब्लु ३१८६ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्दै थिए ।
महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित डेराबाट १ ग्राम ब्राउनसुगरसहित २६ वर्षीय कुबेर जंग राय पक्राउ परेका छन् । उनको डेरामा इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले संयुक्त रूपमा तलासी गर्दा उक्त पदार्थ फेला परेको हो ।
लमजुङको बेसीशहर नगरपालिका–३ निवासी २२ वर्षीय अर्जुन सेन्चुरीलाई सोमबार साँझ ट्रामाडोल ३७ ट्याब्लेटसहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले उनलाई नियन्त्रणमा लिएको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–१ सानो डाँफेबाट ९८० मिलिग्राम ब्राउनसुगर र स्पास्मो ३३ ट्याब्लेटसहित पूर्ण बहादुर सिंह ठकुरी पक्राउ परेका छन् । उनी भारतबाट साइकलमार्फत नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन् । प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।











