Logo
Logo

प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलिया !


3.4k
Shares

काठमाडौं । संसद्का दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार बिचौलिया र आसेपासे चलाएजस्तो देखिएको छ । 

राजनीतिक नियुक्तिका लागि यतिखेर सरकारको मापदण्डमा आफन्त, नातागोता, बिचौलिया र विवादास्पद व्यक्ति पर्ने गरेका छन् । कुनै राजनीतिक दल सरकारमा रहँदा उसले आफूनिकटका केही व्यक्तिलाई नियुक्ति गर्ने पक्ष स्वाभाविक मान्न सकिएला । त्यसो भन्दैमा आफन्त, नातागोता र बिचौलिया मात्रै नियुक्तिको मापदण्डमा पर्ने गरेको छ । 

सरकारले पछिल्लो समय गरेका राजनीतिक नियुक्ति हेर्ने हो भने पार्टीमा योगदान नभएका, सरकारबाहिर रहेका नेताहरूलाई गाली गर्ने र व्यापार–व्यवसायमा संलग्न व्यक्तिले अवसर पाएका छन् । यतिसम्म कि सरकारको कार्यशैली हेर्दा विज्ञलाई छानाछानी पन्छाउने, आफन्त, आसेपासे र बिचौलियालाई खोजाखोजी ल्याउने प्रवृत्ति देखिएको छ । 

पछिल्लो नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने विषय सत्तारुढ दल कांग्रेस र एमालेबीचको विवाद उत्कर्षमा छ ।  निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल पूरा हुँदा पनि सरकारले नयाँ गभर्नर चयन गर्न सकेको छैन । अधिकारी पाँच वर्ष कार्यकाल पूरा गरी गत शुक्रबार राष्ट्र बैंकबाट बिदा भइसकेका छन् । 

यति वेला गभर्नरको दौडमा हालका राष्ट्र बैकका सञ्चालक समेत रहेका डा. रविन्द्र पाण्डे, राष्ट्र बैंकबाटै डा गुणाकर भट्ट, निजी बैकर ज्ञानेन्द्र ढुंगाना, केवल भण्डारीको नाम काँग्रेसले अघि सारेको छ । एमालेले भने राष्ट्र बैकबाट हालका दुई डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना, बम बहादुर मिश्र र अर्थमन्त्री विष्णु पौडेलका सल्लाहकार समेत रहेका डा. प्रकाशकुमार श्रेष्ठ र निजी क्षेत्रका बैकर अशोक शेरचनको नाम अघि सारेको  छ ।

गभर्नर पदमा आफू समर्थित व्यक्ति पुर्‍याउन राजनीतिक दल र व्यावसायिक घरानाहरू समेत आफू अनुकूलको व्यक्तिलाई पुर्‍याउन लागि परेका छन् । राष्ट्र बैकका हालका डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैक भित्रैबाट गभर्नर छनौट हुनु पर्ने भन्दै एमाले निकट शक्ति केन्द्रहरूमा धाइरहेको छ ।

मुलुकको.केन्द्रीय बैकको गभर्नर भागबन्डामा भन्दा पनि मौद्रिक अर्थ व्यवस्था हाँक्न सक्ने  योग्य व्यक्तिका बारेमा सत्ता साझेदार एमाले कांग्रेस एकमत हुन सकेको देखिँदैन । यस्तो स्थितिमा कांग्रेस नेता डा. शेखर कोइरालाले सार्वजनिक रूपमै सरकार बिचौलियासँग घुमिरहेको आरोप बारम्बार लगाउने गरेका छन् । 

चैत २४ काठमाडौँमा आयोजित सर्जक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ आख्यानको लोकार्पण कार्यक्रममा राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा सुनिएको बताए । उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरिए नेपालकै निम्ति दुर्भाग्य हुने बताए ।

उनले भनेका थिए– ‘अहिलेको देशको राजनीतिक परिस्थिति एकदमै नाजुक छ । दिनदिनै खराब हुँदै गइरहेको छ । बिचौलियाको बिगबिगी भएको छ । हरेक ठाउँ वा हरेक तप्काका बिचौलियाहरू बिगबिगी छ । तर यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौँ । काम नै भएको छैन ।’

त्यस्तै गत चैत्र २६ गते चितवन पुगेर पनि नेता कोइरालेले सोही कुरा दोहोर्‍याए । नारायणगढमा चितवन काँग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भनेका थिए– ’एक महिना पहिल्यै हुनुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै भा’छैन । छनोट समिति बने पनि बैठक नै बसेको छैन । बिचौलियाको चलखेलबाट राष्ट्र बैंक पनि बचेन ।’

सत्तारुढ दल कांग्रेसकै महामन्त्री गगन थापाले त बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्मै हुने गरेको दाबी गरे । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सांसदसमेत रहेका थापाले अहिलेको अर्थतन्त्रमा बिचौलियाकै कारण समस्या आएको जिकिर गरे ।

तर, निजी क्षेत्र र बिचौलिया फरक विषय भएको उनको भनाइ छ । उनले बिचौलियाको पहुँच नेतृत्व तहको शयनकक्षसम्म हुने गरेकाले अहिले समस्या सिर्जना भइरहेको बताए ।

उनले भने, ‘हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’ 
 
पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएको थापाको जिकिर छ । उनले थपे, ‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस हुने, छलफल हुने अवस्था बन्ला कि आउने भनेको हामी कहाँनेर पुग्यौँ ?’

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भएमात्रै राज्य बलियो हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्