काठमाडौं, १ साउन ।
किर्ते हस्ताक्षर गरेर भत्ता हिनामिना गरेको आरोप लागेका काठमाडौं महानगरपालिका– ४ का वडाध्यक्ष मोहन विष्टले पीडितको बैंक खातामा पैसा हालिदिएका छन् । एक ९६ वर्षकी महिलाको भत्ता कीर्ते हस्ताक्षर गरी हिनामिना गरेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने डरले उनले बृद्धाको अनुमति बिना नै उनको खातामा पैसा हालिएको स्रोत बताउँछ ।
गत १८ असारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो ।
गीताञ्जलीमार्ग बस्ने ९६ वर्षीया चिजमाया लिम्बूले आफ्नो भत्ता अरूलाई दिएको भन्दै सुरुमा उनले प्रहरीमा निवेदन दिएकोमा प्रहरीले दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा जाहेरी दिएकी हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घटनाको अनुसन्धान गरिरहेको छ ।
वृद्धा लिम्बूको नामको भत्ता महानगरले किर्ते हस्ताक्षर गरी अन्य व्यक्तिलाई नै १२ हजार रुपैयाँ दिएको आरोप छ ।
वृद्धाका आफन्तले उनको वरिष्ठ ज्येष्ठ नागरिक महानगर भत्ताका लागि वडा कार्यालयलाई आग्रह गरेका थिए । वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि वृद्धालाई नै लिएर उनीहरू वडा कार्यालयमा पुगेका थिए । वडा कार्यालयका कर्मचारीले भत्ता दिइसकेको बताएपछि विवाद भएको थियो । वृद्धाले वडाध्यक्ष विष्ट, वडा सदस्य दिनेश महर्जन र ध्रुवप्रसाद त्रिपाठीविरुद्ध किर्ते मुद्दामा कारबाही माग गर्दै जाहेरी दिएकी हुन् । दबाबको भरमा प्रहरीले घटनाको गम्भीरताका साथ अनुसन्धान नगरेको पीडितको आरोप छ । हालसम्म कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन । कीर्ते जस्तो मुद्दालाई तामेलीमा राख्न चलखेल भइरहेको स्रोत बताउँछ ।