Logo
Logo

सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र चुलियो असन्तुष्टि, त्रासमा एमाले 


3.7k
Shares

काठमाडौं । संविधान संशोधन, राजनीतिक स्थिरता, विकास र सुशासनको वाचासहित बनेको कांग्रेस–एमाले गठबन्धन सरकारले नौ महिना पूरा गरेको छ । तर संविधान संशोधनको मुख्य एजेन्डामा कुनै प्रगति भएको छैन । विकास र सुशासनका सवालमा असन्तुष्टि कायमै छ । सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ कांग्रेसकै नेताहरूले आलोचना गरिरहेका छन् । 

कांग्रेस र एमालेले १७ असारमा गरेको ७ बुँदे सहमतिको जगमा ३० असारमा केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यति बेला संसद्का दुई ठूला दलबीच गठबन्धनको औचित्य स्थापित गर्न संविधान संशोधनलाई मुख्य लक्ष्य भनिएको थियो ।

गठबन्धन बनेको ९ महिना बितिसक्दा कार्यदलसमेत घोषणा गर्न नसकेको भन्दै कांग्रेसभित्र आलोचना सुरु भइरहेको छ । कांग्रेस महामन्त्री गगन कुमार थापाले दिनहुँ ओली नेतृत्व सरकारको आलोचना गर्ने गरेका छन् । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महामन्त्री थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्मै हुने गरेको दाबी गरे । तर, निजी क्षेत्र र बिचौलिया फरक विषय भएको उनको भनाइ छ । उनले बिचौलियाको पहुँच नेतृत्व तहको शयनकक्षसम्म हुने गरेकाले अहिले समस्या सिर्जना भइरहेको बताए ।

उनले भने, ‘हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’  

पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएको थापाको जिकिर छ । उनले थपे, ‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस हुने, छलफल हुने अवस्था बन्ला कि आउने भनेको हामी कहाँनेर पुग्यौँ ?’

मंगलबार बिचौलीया प्रधानमन्त्रीकाे बेडरुमसम्मै पुग्ने दाबी गरेका थापाले बुधबार पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरे । बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टीले गरेका कामको प्रचार आफैँले गर्नुपर्ने बताउँदै त्यो प्रयास भइरहेको बताए ।

सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट सुनिँदै आएका थापाले सरकारका कामको शैली परिवर्तनको परिवर्तन अपरिहार्य रहेको बताए । उनले सत्ता साझेदार दल नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै आफ्नो पार्टीमा प्रश्न गर्न पाउने जिकिर गरे ।

उनले भने– ‘प्रश्न पनि गर्नुपर्छ । कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ । यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । कसैले लिएर जाँदैन,’ थापाले भने, ‘कोही भीम रावल बन्दैन । किनकि यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।’

आफूहरूले दिएको सुझावअनुसार सरकारले काम नगरेपछि थापा बालुवाटारको घेराबाट बाहिर निस्कन खोजेका छन् । सुशासन कायम गर्ने र संविधान संशोधन गर्ने दिशामा सरकार गम्भीर नभएको उनको निष्कर्ष छ ।

विशेषगरी चार महिना मात्र कार्यकाल बाँकी रहेको अवस्थामा नहटाउन सुझाव दिँदादिँदै पनि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई पदमुक्त गरिएको, नियुक्तिमा आआफ्नो स्वार्थअनुसार अघि बढ्न खोजिएको भन्दै महामन्त्री थापाले सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने गरेका छन् । तर राजनीतिक संयन्त्रको सदस्य पनि नछाड्ने र सरकारको आलोचना पनि गर्ने दोहोरो भूमिका निर्वाह गरेको भन्दै उनीमाथि पनि प्रश्न उठ्न थालेको छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सात बुँदामा सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । महामन्त्री शर्माले सरकारको ७ कमजोरी औँल्याउँदै बुधबार ट्विटरमा लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन। मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन। कमजोरी केलाऊँ, लय मिलाऊँ, गति बढाऊँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।’

महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपति प्रकरण, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआईजी नियुक्तको विषय विवादका रूपमा उठाएका छन् ।

कांग्रेसका अर्का नेता शेखर कोइरालाले पनि सरकारका कामबारे  धेरै अघिदेखि असन्तुष्टि पोख्दै आएका छन् ।  उनले पछिल्लो समय गठबन्धनकै औचित्यमाथि प्रश्न उठाउनसमेत थालेका छन् । 

कोइरालाले सातबुँदे सहमतिअनुसार एउटा पनि काम नभएको बताए । उनले भने। ‘हामी सरकारमा छौं, किनकि यो गठबन्धन कांग्रेस र एमाले मिलेर बनेको छ । हामी चाहन्छौँ यसले राम्रो काम गरोस्, अघि बढोस् । जनतालाई आशा र भरोसा दिन सकोस् । तर सरकारको ध्यान त्यस दिशामा छैन । जनताबाट टाढा हुने काम मात्रै भइरहेको छ । सडकमा आक्रोश बढेको छ ।’
सरकारले सुशासन दिन नसकेको, संविधान संशोधनमा काम अघि नबढाएको, राम्रो काम गर्ने कर्मचारीलाई हटाएर राज्य प्रणालीलाई थप कमजोर बनाउन खोजेको र दण्डहीनता बढाएको कोइरालाको ठम्याइ छ । 

शनिबार एक सार्वजनिक कार्यक्रममा कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्तामा नभएको टिप्पणी गरेका थिए । ‘यो सरकारले खासगरी संविधान संशोधनको कुरा गरेको छ, यसमा जति ढिलाइ हुन्छ, त्यति सडकमा असन्तुष्टिको आकार अझ बढ्दै जान्छ,’ बीपी सामुदायिक सहकारी अस्पतालको १७ औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले भनेका थिए ।

गभर्नर नियुक्तिमा पनि नेता कोइरालाले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । उनले  सार्वजनिक रूपमै सरकार बिचौलियासँग घुमिरहेको आरोप बारम्बार लगाउने गरेका छन् । 

चैत २४ काठमाडौँमा आयोजित सर्जक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ आख्यानको लोकार्पण कार्यक्रममा राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा सुनिएको बताए । उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरिए नेपालकै निम्ति दुर्भाग्य हुने बताए ।

उनले भनेका थिए– ‘अहिलेको देशको राजनीतिक परिस्थिति एकदमै नाजुक छ । दिनदिनै खराब हुँदै गइरहेको छ । बिचौलियाको बिगबिगी भएको छ । हरेक ठाउँ वा हरेक तप्काका बिचौलियाहरू बिगबिगी छ । तर यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौँ । काम नै भएको छैन ।’

त्यस्तै गत चैत्र २६ गते चितवन पुगेर पनि नेता कोइरालेले सोही कुरा दोहो¥याए । नारायणगढमा चितवन काँग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भनेका थिए– ’एक महिना पहिल्यै हुनुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै भा’छैन । छनोट समिति बने पनि बैठक नै बसेको छैन । बिचौलियाको चलखेलबाट राष्ट्र बैंक पनि बचेन ।’

सरकारको कार्यशैलीलाई लिएर सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि चुलिइरहेका बेला प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार गठनका लागि कांग्रेसलाई निःसर्त सहयोग गर्ने सार्वजनिक उद्घोष गरेका छन् । उनले इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए माओवादीले प्रस्ट सहयोग गर्ने बताएका हुन् ।

‘कांग्रेसको जस्तो चाहना हुन्छ, त्यहीअनुसार गर्छ । यो कुरा एकदम क्लियर हो,’ उनको भनाइ थियो, ‘कांग्रेसले बाहिरबाट सहयोग गरिदेऊ भने पनि हामी तयार । सरकारमा आएर सहयोग गर भन्यो भने पनि त्यहीअनुसार हुन्छ ।’

कांग्रेसभित्रैको तीव्र असन्तुष्टि र प्रचण्डको पछिल्लो अभिव्यक्तिले सरकारकै भविष्यमाथि समेत संशय पैदा गरिदिएको छ ।


एमाले शसंकित
कांग्रेस नेताहरूको सरकारप्रति असन्तुष्टि र नयाँ गठबन्धन बनाउन कांग्रेसलाई निःसर्त समर्थन गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति सार्वजनिक भएसँगै सत्तारूढ दल एमाले सशंकित भएको छ ।

एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारको कार्यशैली लगायतका विषयमा बढेको असन्तुष्टिलाई लिएर कांग्रेससँग राजनीतिक संयन्त्रमा छलफल गर्ने निर्णय गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग वार्ता गरेका छन् । 

कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाहीप्रति खुलेरै असन्तुष्टि जनाउन थालेपछि एमालेले त्यसको समाधानका लागि संयन्त्रमा छलफल गर्दै छ । 

प्रतिक्रिया दिनुहोस्