काठमाडौं, २ साउन । साहित्यकार भीष्मराज फुलारा गीतकारका रुपमा समेत देखिएका छन् । फुुलाराले आमाको सम्झनामा लिखित ‘जूनसरी बिलाई गयौं’ बोलको गीत ल्याएका छन् । उक्त गीतमा संगीतकार विक्रम थापा र गायक स्वरुपराज आचार्य स्वर रहेको छ ।
संगीत संयोजन विसन मानन्धरको रहेको उक्त गीतलाई फुलारा लिटरेचर फाउण्डेसन र द लभ अफिसेस अफ बासु डि. फुलारा पि.सी.को सहकार्यमा निर्माण गरिएको हो । गीतकार फुलारा गीतका बारेमा भन्छन्, ‘आज म निक्कै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरुमा समर्पित गीत हो भन्न चाहन्छु ।’
त्यसैगरी उक्त गीतका गायक स्वरुपराज आचार्यले भने, ‘मैले २५ वर्षे सांगीतिक यात्रामा सयौँ गीतहरु गाएँ । म सधैँ गहन गीतहरुको खोजीमा हुन्छु । गीतकार भीष्मराज फुलाराज्युका शब्दहरु निक्कै अब्बल रहेको पाएँ ।’ उनले गीतकार फुलाराले भनेझैँ आमा गुमाइसकेका संसारका ती सबै सन्तानहरुको साझा गीत भएकोमा आफू सहमत भएको बताए ।
गीत सार्वजनिक कार्यक्रममा संगीतकार विक्रम थापाले गीतकार भीष्मराज फुलारा नेपाली गीतसंगीत क्षेत्रमा अब्बल गीतकारको रुपमा पदार्पण भएको बताए । उक्त गीतको छायाँकन किशोर खनाल र सम्पादन श्यामराजा श्रेष्ठले गरेका हुन् ।