
काठमाडौं । सप्तरीको सुरुंगा नगरपालिका– ७, रामटोलकी एक युवती मृत भेटिएकी छन् । साढे तीन वर्षअघि यौन दुव्र्यवहारमा परेकी दलित युवती पूजा राम घरदेखि पाँच सय मिटर पर तीनगछियाको पोखरीछेउमा मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
पूजा राम मृत्यु घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनको मृत्यपश्चात आमा रामवतीदेवीले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएपछि प्रहरीले जागेश्वर ठाकुरलाई गाउँबाटै पक्राउ गरेको हो ।
ठाकुर १४ मंसिर ०७८ मा पूजामाथि भएको यौन दुव्र्यवहारमा दोषी ठहर भई फरार रहेका युवक हुन् । उनले त्यतिवेला पूजालाई घरनजिकैको बाँसघारीमा कपडाले मुख थुनेर बलात्कार प्रयास गरेका थिए ।
घटना हुँदा नाबालक रहेका ठाकुरलाई जबर्जस्ती करणी उद्योगमा २ चैत ०७९ मै सप्तरी जिल्ला अदालतले आठ महिना कैद र सात हजार रुपैयाँ जरिवानाको फैसला गरे पनि उनी बाल सुधारगृह नगई फरार भएका थिए ।
गाउँमा लुकिछिपी रहेका उनैले छोरीको हत्या गरेको भन्दै पूजाकी आमा रामवतीदेवीले जाहेरी दिएपछि मात्रै पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
सोमबार राति भाइसँगै घरमा रहेकी पूजा एक्कासि हराएको देखिएको र खोजी गर्ने क्रममा मंगलबार बिहान शव भेटिएको खतिवडाले बताए । शंकास्पद अवस्थामा शव फेला परेकाले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढाइएको एसपी खतिवडाले बताए ।











