
काठमाडौं । काठमाडौंको टोखास्थित झोर क्षेत्रबाट २५ करोड बराबरको विदेशी रकमसहित पक्राउ परेका ट्रक चालक जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले ट्रक चालक सिन्धुपाल्चोकका फुच्चे भनिने ४३ वर्षीय कुसाङ लामालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
गत ४ चैत राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल भने फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो । उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ ।











