
काठमाडौं । जिल्ला अदालत सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी २२ वर्षीय भीमा (रिजुका) गुरुङ प्रकरणमा एक वर्षपछि फैसला गरेको छ ।
डाक्टरको त्रुटि, हेलचेक्राईं र लापरबाहीबाट ०८० चैत्र २९ गते भीमाको मृत्यु भएको भन्दै जेठाजु नाता पर्ने धनबहादुर मगरले ०८१ वैशाख १७ गते प्रदेश अस्पताल र अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजङ्ग शाहीविरुद्ध अन्तरकालीन माग गर्दै रिट दायर गराएका थिए ।
उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश दीपक ढकालको इजलासले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने गरी फैसला गरेका हुन् । अदालतका सूचना अधिकारी उज्जलदेव रावलले मृतकको पति र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने ठहरी फैसला भएको जानकारी दिए ।
पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीय भीमा सामान्य पेट दुखेको भन्दै उपचारका लागि प्रदेश अस्पताल पुगेकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल पुगेकी थिइन् । उनको पाठेघर सफा गर्दैगर्दा मृत्यु भएको थियो ।











