काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सबैलाई सहभागी हुन अपिल गरेका छन् ।

बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले महोत्सवमा सबैलाई सहभागी हुन अपिल गरेका छन् ।
ओलीले भने, ‘हामी ११ गते राजाले अधिकार खोसेको थियो । जनतालाई फेरि रैती बनाएको थियो । हिजो अस्ति ०६३ साल वैशाख ११ गतेसम्म राजाले अधिकार खोसेर रैतीमा परिणत गरेको थियो । त्यसलाई परास्त गरेर जनताका अधिकार जनतामा ल्याएर विजय हासिल गरेको दिन थियो । त्यस दिन हामीले महोत्सवको रूपमा युवा महोत्सव मनाउँदैछौं । त्यसमा हामी सबैको सहभागीताका लागि पनि आग्रह गर्न चाहन्छु ।
‘अगुवाइ गर्न नेकपा एमाले कस्सिएको पनि छ । गरिरहेको पनि छ । नीतिगत कुरामा नेकपा एमाले एकदमै स्पष्ट छ । हरेक प्रश्नमा नेकपा एमाले स्पष्ट छ । राष्ट्रिय नीति के गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट छ,’ओलीले भने ।
सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट उनले पारे । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोज बिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने उनको भनाइ थियो ।
‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बिचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । ’ प्रधानमन्त्री ओलीले भने ।











