काठमाडौं । शिक्षकहरू १६ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यका सहित देशभरको सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।

महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्ण रुपमा बन्द भएको छ ।
काठमाडौँ उपत्यकासहित देशका अन्य सामुदायिक विद्यालयहरू बन्दको स्थितिमा रहेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले विगत १६ दिन देखी राजधानी काठमाडौँमा विभिन्न आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन् । सो क्रममा शिक्षकहरूले बिहीबार पनि काठमाडौँमा प्रदर्शन जारी राखेका छन् ।
उनीहरूको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरूले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरूले २० चैतदेखि काठमाडौँमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरे पनि नेपाल शिक्षक महासङ्घले असहमति जनाउँदै आएको छ । उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप सशक्त बनाउँदै गरेका छन् । शिक्षकहरू माइतीघर९बबरमहल९बिजुली बजार सडक ढाकेरै प्रदर्शनमा उत्रिएका छन् ।
महासङ्घले सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासङ्घले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ । आन्दोलनको नेतृत्व गरिरहेको महासङ्घले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरुलाई काठमाडौँमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।











