
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नीतिगत आवरणमा व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ । सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठित उपसमितिले सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्नसम्मको प्रक्रियामा संलग्न पदाधिकारी, कर्मचारी र सरोकारवालामाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सुझाव दिएको हो ।
उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ । अधिकारी २०७१–७४ सालसम्म आयोजनाका प्रमुख थिए भने माघ २०७८ देखि प्राधिकरणको महानिर्देशक छन् । साथै, पूर्वमहानिर्देशक सञ्जीव गौतम, राजन पोखरेल, आयोजना प्रमुख विनेश मुनाकर्मी, निर्देशक चाँदमाला श्रेष्ठ, प्रविन न्यौपानेलगायतमाथि पनि छानबिनको सिफारिस गरिएको छ ।
उपसमितिले खिलराज रेग्मी नेतृत्वको सरकारबाट गरिएको लागत वृद्धि निर्णय र त्यसमा आधारित भएर भएको अनियमितता तत्काल अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ । उपसमितिले मन्त्रिपरिषद्का नीतिगत निर्णयलाई आवरण बनाइ भ्रष्टाचार गरिएको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।












