काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित रामबहादुर बम्जनलाई सफाइ दिएको छ । न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसलालाई बदर गर्दै बम्जनसहित अन्य दुई जना आरोपितलाई निर्दोष ठहर गरेको हो ।

अदालतको फैसलासँगै रामबहादुर बम्जन सिन्धुपाल्चोक कारागारबाट मुक्त भएका छन् । फैसला आएको दिन राति उच्च अदालतको फैसलाको पत्र प्राप्त भएपछि भोलिपल्ट चैत ७ गते बिहानै बम्जनलाई रिहा गरिएको हो ।
बम्जनमाथि २०७३ साउन २० गते रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप लागेको थियो। तामाङले आफू बालिकाबेलामा यौन शोषणमा परेकी भन्दै १८ वर्ष पुगेपछि २०७६ असोज २३ गते जाहेरी दिएकी थिइन् । नेपाली कानुन अनुसार बालबालिकामाथिको यौन अपराध सम्बन्धी उजुरी १८ वर्ष पुगेपछि दर्ता गर्न पाइन्छ ।
जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो । सो मुद्दामा संलग्न अन्य दुई व्यक्ति – ज्ञानबहादुर र डिगबहादुर बम्जन भने जिल्ला अदालतबाटै सफाइ पाएका थिए ।
जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो भने बम्जनले पनि आफू निर्दोष रहेको जिकिर गर्दै सफाइको माग गर्दै रिट दायर गरेका थिए ।
उच्च अदालत जनकपुरले दुवै पक्षका पुनरावेदनमाथि विचार गर्दै मुद्दाको प्रारम्भबिन्दु नै त्रुटिपूर्ण रहेको ठहर गरेको छ । अदालतले हदम्यादबिहीन जाहेरीका आधारमा दायर अभियोग कानुनी रूपमा मान्य नहुने उल्लेख गर्दै जिल्ला अदालतको आदेश बदर गरेको हो ।
फैसलामा कसूरदार ठहर भएका पुनरावेदक प्रतिवादी राम बहादुर बम्जनले समेत आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ। वादी नेपाल सरकारको पुनरावेदक जिकिर पुग्न सक्दैन भनिएको छ ।











