काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते राजधानीको निषेधित क्षेत्रमै प्रदर्शन गर्ने बताएका छन् । बिहीबार सम्पन्न पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले नागरिक अधिकारमाथि सरकार निरन्तर अङ्कुश लगाइरहेको आरोप लगाए ।

‘सरकार नागरिकका मौलिक अधिकारहरूलाई दबाउने दिशामा अघि बढिरहेको छ,’ लिङ्देनले भने, ‘त्यसैको विरोधस्वरूप हामी निषेधित क्षेत्रमै प्रदर्शन गर्नेछौँ।’
वैशाख ७ गतेको कार्यक्रम सभाको भन्दा बढी विरोध प्रदर्शनको स्वरूपमा हुने लिङ्देनले बताए । राप्रपाले आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरू विशेष समितिको बैठकमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।
राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेता तथा कार्यकर्ताहरूको निःशर्त रिहाइ नभए थप कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सरकार र सुरक्षासंस्थाले प्रदर्शन रोक्न सख्त कदम चाल्ने सङ्केत गरिरहेका बेला राप्रपाको यो निर्णयले राजधानीमा आन्दोलनका काय{क्रमहरु बढ्ने देखिएको छ ।











