काठमाडौंँ । सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरूलाई पक्राउ गरेको थियो ।उनीहरू अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका थिए । त्यसक्रममा उनीहरू भाग्दै भारत हुँदै नेपाल प्रवेश गरेको पाइएको हो ।
चारमध्ये एक जनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।











