Logo
Logo

शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह


378
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सक्रिय सहभागिताका लागि शिक्षक समुदायलाई अपिल गरेको छ ।

बोर्डले बुधवार एक सूचना प्रकाशित गर्दै हालै सम्पन्न कक्षा १० को परीक्षा नतिजा समयमै सार्वजनिक गर्न उत्तरपुस्तिका परीक्षण आवश्यक भएको र यहीबिचमा कक्षा १२ को माध्यमिक शिक्षा परीक्षाको तयारी भइरहेको जनाउँदै शिक्षकहरूको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘विद्यार्थीको गुणस्तरीय सिकाइ, अवसर, प्राथमिकता तथा शिक्षकको पेसागत सुरक्षा र प्राज्ञिक उन्नयन सँगसँगै अघि बढ्नुपर्ने सन्दर्भमा उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनको जिम्मेवारी शिक्षक समुदायले पेसागत उत्तरदायित्वका रूपमा वहन गर्नु अत्यावश्यक छ।’

शिक्षकहरू हाल नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षा विधेयक पारित गरिनुपर्ने माग गर्दै आन्दोलनमा छन् । तथापि, बोर्डले परीक्षा तथा उत्तरपुस्तिका परीक्षणलाई विद्यार्थीको भविष्यसँग जोडिएको अत्यन्त संवेदनशील र मानवीय पक्षको रूपमा लिँदै यस कार्यमा बाधा नपुर्‍याई सहयोग गर्न आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, ‘कक्षा १० का विद्यार्थीहरू भविष्यका लागि नतिजा पर्खिरहेका छन् भने कक्षा १२ का विद्यार्थीहरू अन्तिम परीक्षाको तयारीमा छन् । उनीहरूको उज्वल भविष्यका लागि सरकार, अभिभावक र शिक्षकले गरेको लगानीको मापन यिनै परीक्षाबाट हुने भएकाले यसको महत्त्व अत्यधिक छ ।’

बोर्डले परीक्षाको तयारी गरिरहेका सम्पूर्ण विद्यार्थीहरूलाई संयमता र निरन्तरताका साथ तयारीमा लाग्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्