काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले विदेश भ्रमणका क्रममा कसैले पनि नेपाल खत्तम भयो‚ विकास भएन भनेर कुनै विदेशीले नभनेको बताइन् । देशभित्र भने राजनीति गर्नेहरूकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास भएकोमा उनले आपत्ति जनाइन् ।

बिहीबार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले राजनीति गर्नेहरूकै कारण मुलुकमा सधैँ असहज परिस्थिति बन्ने गरेको तर्क गरिन्।
उनले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको बताइन् । नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको उनको भनाइ छ । उनले सही किसिमको राजनीति नभएकै कारण युवाहरू विदेश पलायन हुने र देशभित्र आन्दोलन भइरहने स्थिति आएको समेत बताइन् ।
परराष्ट्रमन्त्री देउवाले भनिन्, ‘कहिलेकाहीँ लाग्छ कि हामी राजनीति गर्ने मान्छेहरू नै यसका दोषी हौँ कि । अहिले म परराष्ट्रमन्त्री भएपछि धेरै देश गएँ । धेरै देशका मान्छेसँग कुरा आदानप्रदान गर्ने मौका पाएँ तर अहिलेसम्म तिम्रो देश खत्तम भयो, विकास भएन, तिमीहरूको देशमा आउँदिनँ भन्ने एउटा पनि मान्छे भेटिनँ । हामी नेपालीलाई हेर्ने दुनियाँको नजर एकदमै सकारात्मक छ । हामी देशभित्र बस्नेले चाहिँ किन नकारात्मक बनाइरहेका छौँ ?’ सबैले आफ्नो देशलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी रहेको उनको भनाइ छ।











