
काठमाडौं । विभिन्न माग राखी १७ दिनदेखि आन्दोलनरत शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणलाई सास्ती परेको छ । मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत हुँदै आएको छ ।
अहिले नयाँ बानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ । सो क्षेत्रको जामले गर्दा काठमाडौँका अन्य सडकहरूमा पनि जाम परेको छ ।
विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरूले आन्दोलन जारी राखेका हुन् । सरकारले आन्दोलन स्थगित गर्न आग्रह गर्दै आए पनि शिक्षकहरूले त्यसलाई बेवास्ता गर्दै आन्दोलन जारी राखेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले माइतीघर–बानेश्वर सडक तत्काल सुचारु नगरे सडकमै गाडी तेर्स्याउने चेतावनी दिएका छन् । महासङ्घले अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेर्स्याउने चेतावनी दिएको हो ।
मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ । उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप शसक्त बनाउँदै गरेका छन् । शिक्षकहरू माइतीघर-बबरमहल-बिजुलीबजार सडक ढाकेरै प्रदर्शनमा उत्रिएका छन् ।











