काठमाडौं । भाटभटेनी समूहको स्वामित्वमा रहेको ललितपुर सिटी एफसी नेपाल सुपर लिग ‘एनएसएल’ २०२५ को लिग चरण अपराजित रहँदै शीर्ष स्थानमा टुङ्ग्याउने एक मात्र टोली बनेको छ ।

एनएसएल २०२५ मा शानदार प्रदर्शन गरेको ललितपुरले ६ खेलमा ३ जित र ३ बराबरीसहित १२ अङ्क जोड्दै तालिकाको शिखरमा रह्यो । योसँगै लिग चरणमा सबैभन्दा बढी अङ्क बटुल्ने टोली पनि बनेको छ । १० गोल गरेको ललितपुरले ६ गोल खाँदै आफ्नो रक्षा पङ्क्ति पनि मजबुत रहेको प्रमाणित गरेको छ ।
गत संस्करणको विजेता समेत रहेको ललितपुर सिटी एफसी अब प्लेअफ चरणमा प्रवेश गर्दै लगातार दोस्रो उपाधिको लक्ष्यमा अघि बढेको छ । क्लबको धारणा अनुसार, यो अपराजित यात्रा टोलीको रणनीतिक योजना, निरन्तरता र ‘टिम फस्र्ट’ मानसिकताको परिणाम हो ।
क्लबले खेलाडी विकास, प्रशिक्षक टोलीको सुदृढीकरण र समुदायसँगको सम्बन्धमा निरन्तर लगानी गर्दै आएको छ । यसले नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गरेको क्लबको विश्वास छ ।
क्लबलाई एनएसएल–२०२५ मा प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ भने एनसेल ‘पावर्ड बाई’ साझेदारका रूपमा छ । बीवाईडी मुख्य साझेदार हो भने पेप्सी, स्मार्ट एन्ड ह्यान्डसम, अल आउट, युनाइटेड अजोड इन्स्योरेन्स, र फ्रुट जेम्स सह–साझेदारका रूपमा रहेका छन् ।
क्लबले प्रायोजकहरूलाई केवल व्यावसायिक साझेदार नभई नेपाली खेलकुदमा प्रेरणा र गर्व जगाउने अभिन्न सहयोगी मानेको छ ।
भाटभटेनी समूहले फुटबल मात्र नभई अन्य खेलमा पनि सक्रिय सहयोग गर्दै आएको छ । हालै उसले भलिबल खेलाडी उषा भण्डारीलाई ब्रान्ड एम्बासडर बनाएको छ । साथै, टेनिसकी सिवानी गुरुङ, स्विमिङका ओलम्पियन शिरिष गुरुङ, बास्केटबलकी पूर्वकप्तान सदीना श्रेष्ठ र राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईसँग पनि सहकार्य गर्दै खेल र व्यक्तित्व विकासमा योगदान दिँदै आएको छ ।
क्लबले यी सबै केवल प्रायोजकको रूपमा मात्र नभई फुटबलको शक्ति र नेपाली खेलमा गर्वको भावना जगाउने विश्वास साझेदार भएको जनाएको छ ।
अपराजित यात्राका साथ ललितपुर सिटी एफसी अहिले दोस्रो उपाधिको खोजीमा आत्मविश्वास, उत्साह र समर्पणका साथ अघि बढिरहेको छ।











