काठमाडौं । शिक्षकहरूको आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासङ्घका प्रतिनिधिहरूले आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने भएका छन् ।

महासङ्घका महासचिव तुलाबहादुर थापाका अनुसार प्रधानमन्त्रीले बेलुकी ७ बजेको समय दिएकाले सो समयमा भेटवार्ता हुने तय भएको हो। थापाले प्रधानमन्त्रीलाई आफ्नो माग र आन्दोलनको पृष्ठभूमिबारे जानकारी गराउने बताए ।
प्रधानमन्त्रीसँगको भेटअघि महासङ्घ आन्तरिक छलफलमा जुटेको छ । आन्दोलनको समग्र समीक्षा गर्ने र प्रधानमन्त्रीसमक्ष उठाउने मुद्दाहरूको तयारीका लागि आन्तरिक छलफलमा जेटेका थापाले बताए ।
महासङ्घको नेतृत्वमा २० चैतदेखि काठमाडौंमा जारी आन्दोलनले विद्यालय शिक्षामा ठुलो असर परेको छ। यद्यपि, शिक्षा मन्त्रालय र महासङ्घबिच संवाद भइरहे पनि हालसम्म कुनै ठोस सहमति हुन सकेको छैन ।
सरकारले शिक्षकहरूको मागलाई ध्यानमा राख्दै विद्यालय शिक्षा विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेको जनाएको छ। यसैअनुसार संसद्को वर्षे अधिवेशन १२ वैशाखमा बोलाइएको हो । तर, महासङ्घ भने अझै पनि आश्वस्त देखिँदैन ।
महासङ्घका नेताहरूले मन्त्रिपरिषद् र मन्त्रालयबाट केही ठोस निर्णय भएमा आन्दोलनको मोडालिटीमा परिवर्तन हुन सक्ने सङ्केत दिएका छन् ।











