काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यथाशीघ्र गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

शुक्रवार न्यायाधीश श्याम कुमार भट्टराई र टिकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै क्याम्पसमा चाँडोभन्दा चाँडो निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
गत चैत्र १६ गतेका लागि तोकिएको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएको थियो। तर, त्रिभुवन विश्वविद्यालयद्वारा जारी’स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन निर्देशिका, २०८१’ को दफा १२(८) अनुसार, स्थगित निर्वाचन १५ दिनभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर सो अवधिमा निर्वाचन मिति तोकिएको प्रमाण नदेखिएकाले अदालतले निर्वाचन नगर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘निर्देशिका अनुसार १५ दिनभित्र निर्वाचन मिति तोकिएको देखिएको छैन। त्यसैले मिति २०८१/१२/१८ मा भएको निर्वाचन नगर्ने निर्णय कार्यान्वयन नगर्नु र यथाशीघ्र निर्वाचन मिति तोकी प्रक्रिया अघि बढाउनु उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिन्छ।’
रत्नराज्य लक्ष्मी आरआर क्याम्पसमा विभिन्न बाहानमा स्ववियु निर्वाचन सारिँदै आएको छ ।











