Logo
Logo

पार्टी फुटाउनेहरूप्रति ओलीको टिप्पणी : ‘अघाएका किर्नाहरू’


2.5k
Shares

चितवन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनमा संलग्न व्यक्तिहरूलाई ‘अघाएका किर्ना’को संज्ञा दिँदै ती नेता कार्यकर्तामाथि कडा टिप्पणी गरेका छन् ।

नवलपुरको गैँडाकोटमा एमाले नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीभित्र सधैँ अवसर पाएका, सुविधा भोगी केही व्यक्ति असन्तुष्ट भएर बाहिरिएको आरोप लगाए ।

‘पार्टीभित्र सधैँ पाइरहेका, पद पाएका, अवसर लिएका व्यक्तिहरू नै असन्तुष्ट देखिन्छन्,’ ओलीले भने, ‘मैले तिनलाई ‘अघाएका किर्ना’ भन्ने गरेको छु, जो अघाएर झर्छन्।’

उनले दुई तिहाइको बहुमतसहितको कम्युनिष्ट पार्टी दुई पटक विभाजन भएको स्मरण गर्दै ती विभाजनकारीहरूलाई बाह्य शक्तिहरूको इशारामा चल्ने तत्त्वको रूपमा चित्रित गरे।

‘अघिल्लो चुनावमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति हाम्रो विपक्षमा उभिएका थिए, तर जनताको साथले हामीले हार मानेनौं,’ उनले भने, ‘२/२ पटक पार्टी फुटाएर गए पनि जनताले हामीलाई सकिन दिएनन्। कार्यकर्ताको प्रतिबद्धता र योगदानले हामी ७९र८० सिट ल्याउन सफल भयौं।’

ओलीले पार्टी कार्यकर्तालाई हतोत्साहित नभई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे। विकास र समृद्धिको एजेन्डालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘अब हारिन्छ कि भन्ने मानसिकता त्याग्नुस्, म नेतृत्व गरिरहेको छु, हामी विजयी हुन्छौं।’

उनले पार्टीभित्रकै शक्ति एकअर्काविरुद्ध प्रयोग गर्नुको साटो बाह्य शक्तिविरुद्ध एकताबद्ध हुनुपर्नेमा जोड दिए। एमालेलाई सशक्त राष्ट्रिय शक्ति बनाउन ‘जरा अभियान’ प्रभावकारी रूपमा सञ्चालन गरेर जनताको घरदैलोमा पुग्न पनि उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्