
काठमाडौं । यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा स्थान बनाउन असफल भएको छ ।
आज विहानको वर्षाले मैदान खेलयोग्य नहुँदा निर्णायक खेल हुन सकेन । करिब पाँच घण्टासम्म मैदान सुकाउने प्रयास गरिएको थियो । तर, मैदानको केही भाग खेलका लागि सुरक्षित नठहरिएपछि अम्पायरले तीन पटकको निरीक्षणपछि खेल रद्द गर्ने निर्णय गरेका हुन् ।
समूह चरणमा नेपाल र अफगानिस्तान दुवैले तीन–तीन खेल जित्दै समान ६ अङ्क हासिल गरेका थिए । आजको खेल रद्द भई दुवै टोलीले एक–एक अङ्क बाँडेपछि दुवैको अङ्क ७–७ पुगेको हो । तर, नेट रनरेटमा अफगानिस्तान नेपालभन्दा अघि रहेकोले उसैले विश्वकपको टिकेट सुरक्षित गर्यो ।
नेपालको लागि यो निकै निराशाजनक क्षण बनेको छ, किनभने टोलीले राम्रो प्रदर्शन गर्दै अन्तिम खेलसम्म उत्कृष्ट सम्भावना बनाइराखेको थियो ।











