काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट समर्थकहरू आक्रोशित बनेका छन् ।

खेलको आशामा बिहानैदेखि त्रिवि क्रिकेट मैदानमा भेला भएका समर्थकहरू सुरुवाती वर्षा रोकिएपछि खेल सुरु हुने आशामा थिए । एक समय घाम पनि लाग्यो, जसले खेल सुरु हुने सङ्केत दियो । तर मैदान पूर्ण रूपमा सुक्न नसक्दा अन्ततः खेल रद्द गरिएको थियो ।
खेल रद्द गर्ने निर्णयपछि समर्थकहरूले नेपाल क्रिकेट सङ्घ (क्यान), एसियन क्रिकेट काउन्सिल (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विरुद्ध नाराबाजी गर्दै असन्तोष प्रकट गरे ।
उनीहरूले समयमै मैदान तयार पार्न नसकेको र समुचित व्यवस्थापन गर्न नसकेको आरोप लगाए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले मैदानमा उपस्थित भएर समर्थकहरूलाई सम्झायो र बिस्तारै मैदानबाट बाहिर पठायो । यस खेल रद्द भएपछि नेपाल यू–१९ विश्वकप छनोटबाट बाहिरिएको छ ।











