काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकमा सुशासन नहुनुको प्रमुख कारण राजनीतिक अस्थिरता रहेको बताएका छन् । असल शासन संरक्षण मञ्चद्वारा आज आयोजित ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’ मा बोल्दै उनले राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिहरू सुशासनप्रति प्रतिबद्ध हुन आवश्यक रहेको धारणा राखे ।

‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कार्य नगरेसम्म सुशासन सम्भव छैन,’सभामुख घिमिरेले भने, ‘शासकीय संरचना र निर्वाचन प्रणालीमा परिवर्तन आए पनि नेतृत्वमा दृढता नआएसम्म सुशासनको सार्थकता रहँदैन ।’
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेतृत्व वर्गले आत्मकेन्द्रित होइन, मुलुक केन्द्रित सोच राख्नुपर्नेमा जोड दिए ।
‘जनअसन्तुष्टि चिर्न नेतृत्व गम्भीर बन्नुपर्छ,’ उनले भने, ‘नीति होइन, नातास दाता नभए भ्राता भन्ने प्रवृत्तिले सुशासन सम्भव छैन ।’
यसैबिच, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सत्तामा रहेका राजनीतिक दलहरू जबसम्म सुशासनप्रति जिम्मेवार र प्रतिबद्ध हुँदैनन्, तबसम्म सुशासन नारामै सीमित रहने बताए ।
‘सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ उत्रनु आवश्यक छ,’ उनले भने, ‘संसद्, न्यायालयलगायतका संरचना सुशासनका खम्बा हुन्, ती जति बलिया हुन्छन्, शासन त्यति नै प्रभावकारी हुन्छ ।’











