Logo
Logo

पाँचथर कोरोनामुक्त, क्वारेन्टिन खाली


- दृष्टि न्युज/संवाददाता

0
Shares

पाँचथर, ३ साउन । यहाँका कोरोनाभाइरसका सबै संक्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो ।
पछिल्लो पटक संक्रमित देखिएका तीन जना पुरुष कोरोना संक्रमण मुक्त भई अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रबार यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्यासमेत शून्यमा झरेको छ ।
पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो सङ्क्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो । उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । संक्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् ।
यस्तै साउदी अरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
उनीहरुमध्ये दोस्रो संक्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी दुई जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ, मोरङ पठाइएको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ देखिएपछि घर फर्कंदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले सबै सङ्क्रमित निको भएको तथा क्वारेन्टिनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार शुक्रबार जिल्लाका ४२ वटा क्वारेन्टिन पूर्णरुपमा खाली भएका छन् । क्वारेन्टिनमा बसेका तथा अन्य गरी जिल्लामा ७७९ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार २०३ को आरडिटी गरिएको छ । यहाँका ७२२ बेडको क्वारेन्टिन तथा ३६ बेडको आइसोलेन कक्ष पहिलोपटक पूर्णरुपमा खाली भएका छन् ।

प्रतिक्रिया दिनुहोस्