काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निर्वासन योजनालाई अस्थायी रूपमा रोक लगाएको छ । भेनेजुयलाका आप्रवासीहरूलाई एल साल्भाडोरको जेलमा पठाउने तयारी भइरहेका बेला अमेरिकी नागरिक स्वतन्त्रता सङ्घ (ACLU) ले आपतकालीन निवेदन दिएपछि अदालतले सुनुवाइ गर्दै ट्रम्प प्रशासनलाई तत्कालका लागि निर्वासन नगर्न आदेश दिएको हो ।

न्यायाधीश क्लारेन्स थमस र स्यामुअल ए। अलिटोले संयुक्त रूपमा उक्त आदेश जारी गरेका हुन् । सर्वोच्च अदालतको आदेश अनुसार अर्को निर्देशन नआएसम्म कुनै पनि आप्रवासीलाई देश निकाला गर्न पाइने छैन ।
ट्रम्प प्रशासनले १८औँ शताब्दीको विदेशी शत्रु कानुन प्रयोग गर्दै ‘ट्रेन दि अरागुआ’ समूहसँग सम्बन्धित भनी आरोपित आप्रवासीहरूलाई मार्चयता एल साल्भाडोर पठाउँदै आएको थियो । तर, सम्बन्ध नभएका व्यक्तिहरूलाई समेत निर्वासन गरिएको भन्दै सङ्घीय अदालतहरूले यसअघि पनि रोक लगाएका थिए ।
यस कदमको एसीएलयू र डेमोक्रेसी फर्वार्डले कडा विरोध जनाउँदै आएका छन् । उनीहरूले देशभरि अदालतमा रिट दायर गर्ने तयारी गरिरहेका छन्, ताकि आप्रवासीहरूलाई गैर कानुनी रूपमा निष्कासन गर्न रोक लगाउन सकियोस् ।











