रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा आज बिहान एक युवतीमाथि गोली प्रहार भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी २९ वर्षीया टीका विष्टलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले गोली हानेका हुन् ।

विष्ट हाल बुद्धनगरमा खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । शनिवार बिहान ९ बजे सरसफाइ गर्दै गर्दा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका युवकले उनलाई कम्मरमाथि गोली प्रहार गरेका थिए । गम्भीर घाइते अवस्थाको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज हुँदै चितवन रिफर गरिएको छ ।
प्रहरीका अनुसार विष्ट र भारतीय नागरिक आलम अन्सारीबीच केही समयदेखि प्रेम सम्बन्ध थियो। विष्टले विवाह अस्वीकार गरेपछि अन्सारीले बारम्बार धम्की दिँदै हतियारको फोटो समेत पठाउने गरेका थिए ।
घटनापछि अन्सारी फरार छन् र उनी भारततर्फ भाग्न सक्ने आशङ्कामा सीमा क्षेत्रमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिए । प्रहरीले उनको तस्बिर फेला पारेको र खोजी जारी रहेको जनाएको छ ।











