Logo
Logo

रुसको ३० घण्टे युद्धविराम घोषणाबारे युक्रेनले के भन्यो ?


1.5k
Shares

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग छोटो समयका लागि युद्धविराम घोषणा गरेका छन् । पुटिनले क्रेमलिनबाट सम्बोधन गर्दै स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म तीस घन्टाका लागि युद्धविराम घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति पुटिनले दुवै देशमा महत्वका साथ मनाइने इस्टर पर्वका अवसरमा युद्धविराम घोषणा गरिएको बताएका छन् ।

‘रूसी समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म युद्धका सबै क्रियाकलाप रोकेका छौं’ पुटिनको भनाइ उदृत गर्दै अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ । पुटिनले युक्रेनले पनि त्यसलाई अबलम्बन गर्नुपर्ने बताएका छन् ।

युक्रेनले इस्टरको अवसरमा ‘युद्ध रोक्छ कि रोक्दैन’ भन्ने कुराले युद्धविरामका लागि युक्रेन कति गम्भीर छ भन्ने दर्शाउने पुटिनले बताएका छन् । समाचारमा उल्लेख भएका अनुसार पुटिनले भने, ‘युक्रेनले पनि हाम्रो उदाहरण पछ्याउँछ भन्ने विश्वास गरेका छौं। यसले उनीहरूले भन्दै आएका युद्धविरामका लागि कति संवेदनशील छ भन्ने पनि निर्धारण गर्छ ।’

यद्यपि, युद्धविराम घोषणा गरेको केही घण्टामै आफ्नो भूभागमा रूसले आक्रमण गरेको युक्रेनले बताएको छ । युक्रेनी सेनाको कमाण्डर इन् चिफले फ्रन्टलाइनमा लडिरहेका सेनामाथि आक्रमण भएको र रूसी तोपखानाबाट लगातार बमबारी भइरहेको बताएको सिएनएनले जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले प्रस्ताव गरेको तीस दिनको युद्धविराम अस्वीकार नगरेर इस्टर मनाउन युद्धविराम गरिएको भन्ने घोषणा शंकास्पद रहेको बताएका छन् । तर, वास्तवमै रूस शान्त बस्छ भने युक्रेन पनि शान्त बस्ने जेलेन्स्कीको भनाइ छ ।

उनले भनेका छन्, ‘यदी ऊ बिनाशर्त शान्त बस्छ भने युक्रेन पनि शान्त रहन्छ । यदी आक्रमण गर्छ भने युक्रेनले रक्षात्मक प्रत्याक्रमण गर्छ ।’ यसअघि उनले इस्टरकै अवसर पारेर ३० दिनको युद्धविराम गर्न पुटिनलाई आग्रह गरेका थिए ।

‘यसले रूसको भित्री मनशाय देखाउँछ किनकि समाचारका हेडलाइनमा छाउनका लागि ३० घन्टा पर्याप्त होला’ जेलेन्स्कीले भनाई उदृत गर्दै समाचारमा भनिएको छ, ‘तर वास्तविक विश्वास निर्माणका लागि हुँदैन ।’

रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रयास भने बिफल भएको छ । अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने प्रस्तावलाई युक्रेनले सहजै स्वीकार गरेपनि पुटिन सहमत भएका छैनन् । अस्थायी युद्धविराम भए युक्रेनले सेनाको संख्या बढाउने पुटिनको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्