विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका सवालमा दलहरूबीचमा कहिल्यै विमति नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले भने, ‘गणतन्त्रमा त हामी त्यसै पनि एक छौं, यसै पनि एक छौं । गणतन्त्रकै निम्ति लडेर यहाँसम्म आएका हौं ।’ उनल गणतन्त्र गम्भीर खतरामा प¥यो भनेर सोच्न आवश्यक नरहेको बताए ।

जनमत र जनाधारका दृष्टिकोणले गणतन्त्रमाथि कुनै खतरा आएको भनेर सोच्न आवश्यक नभएको पनि उनले बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डले भने, ‘पहिलो कुरा अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न जरुरी छैन । जनाधार र जनमतको दृष्टिकोणले पनि अहिले दलहरू चाँहि गणतन्त्रको रक्षाको निम्ति एक हुनैपर्ने, नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक छैन ।’
अहिलेको गठबन्धनलाई माओवादीको समर्थन नरहने प्रचण्डले स्पष्ट पारेका छन् । शनिबार ३ दलका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको उनले बताए । छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उनको भनाइ छ ।
वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको प्रति खण्डन गर्दै उनले भने, ‘अहिलेको गठबन्धनलाई समर्थन होइन । त्यो विल्कुल होइन । त्यो भ्रम नपरोस् । हिजो भेटेपछि लौ समर्थन भयो रे । फेरि गठबन्धनमा जाने भयो कि क्या हो ? जस्तो चर्चा भएको छ । त्यो विल्कुल गलत हो । त्यो गठबन्धनमा जाने र समर्थन गर्ने कुरा हुन सक्दैन ।’
प्रचण्डले गणतन्त्र नामले नभइ कामले बच्ने बताए । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने बताउँदै उनले राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने दाबी गरे ।
‘राजनीतिमा आउने इच्छा भयो भने केहीले रोक्दैन । हाम्रै उपराष्ट्रपतिले पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहनुभयो’ उनले भने, ‘तर गणतन्त्र सृदृढ हुँदै जानुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने हैन । नामले नभइ कामले बच्नुपर्छ ।’ जनमत गणतन्त्रकै पक्षमा रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।











