काठमाडौं । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ जारी छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो ।
गत माघदेखि सुरु नियमित सुनुवाइअन्तर्गत गत बुधबार चौथो दिन पनि सुनुवाइ भएको थियो । सामान्यतया बुधबार र शुक्रबारमात्रै पूर्ण इजलास तोकिने गरेको प्रधानन्यायाधीशकै अग्रसरतामा यसपालिका चाँडै पेसी तोकिएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए । २०७७ मङ्सिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।











