Logo
Logo

नेपालमा कोरोना : संक्रमित संख्या घट्दै, निको हुने बढ्दै


- दृष्टि न्युज/संवाददाता

0
Shares

coronavirus covid-19 pandemic outbreak virus background concept

काठमाडौं, ३ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । बिहीबार १६७ र शुक्रबार १०१ जनामा कोरोना देखिएको थियो ।
चौबीस घण्टामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका दुई र तेह्रथुमका दुई, कोशी अस्पताल विराटनगरमा इलामका एक र मोरङका छ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक र मोरङका एक, नारायणी अस्पताल वीरगञ्जमा बाराका एक जनालाई कोरोना देखिएको छ ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका दुई, नुवाकोटका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका एक, पर्वतका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका दुई र पाल्पाका दुई, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका एक, दैलेख पिसीआर प्रयोगशाला दैलेखमा दैलेखका चार, चौरजहारी नगरपालिका पिसीआर प्रयोगशालामा सल्यानका एक र रुकुमपश्चिमका तीन जनामा कोरोना देखिएको छ ।
डडेल्धुरा अस्पतालमा डडेल्धुराका दुई, बझाङका दुई र डोटीका सात, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका एक गरी आज जम्मा ५७ जनामा कोरोना देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ८२५ छ । संक्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय संक्रमण रहने दुवैको जम्मा संख्या १७ हजार ५०२ पुगेको छ ।
विगत २४ घण्टामा २७ प्रयोगशालामा तीन हजार ३३१ जनाको पिसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।
अहिले क्वारेन्टिनमा रहनुभएका व्यक्तिको संख्या २३ हजार २७५ रहेको छ । आइसोलेसन रहेका संक्रमित व्यक्तिको संख्या पाँच हजार ८२५ छ । कोभिड–१९ बाट संक्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १०३ रहेको छ । शनिबारसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ (६६.१२ प्रतिशत) छ । उनीहरुको उपचार तथा हेरचाहमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य सहयोगीलाई मन्त्रालयले धन्यवादसमेत व्यक्त गरेको छ । मन्त्रालयले जनस्वास्थ्यको न्यूनतम पालन गर्नसमेत आग्रह गरेको छ ।

मन्त्रालयको दुई वटा कल सेन्टरबाट ७६७ कल प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको संख्या एक लाख ६० हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ताको संख्या ८७ हजार २८१ छ । जम्मा इन्ट्री गरिएको संख्या ६७ हजार ८४७ रहेकामा आज ७० जनाले इन्ट्री गर्नुभएको छ । रेडजोनमा परेकाको जम्मा सङ्ख्या ५२७ छ । शनिबार कोही पनि रेडजोनमा परेका छैनन् । मन्त्रालयको वेबसाइट हेर्नेको संख्या ३० लाख ५१ हजार ५०० छ । भाइबरमा जोडिनेको संख्या चार लाख छ हजार ४२४ छ ।
हालसम्मको विश्वको तथ्यांक हेर्दा एक करोड ४२ लाख दुई हजार ९७९ व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् । त्यसैगरी पाँच लाख ९९ हजार ६०३ व्यक्तिको निधन भइसकेको छ । प्रवक्ता गौतमले भने, ‘सार्क सदस्य देशहरुसँग नेपाललाई तुलना गरेर हेर्दा नेपाल पिसीआर परीक्षण गर्ने मुलुकमा अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।’ कोभिड–१९ बाट प्रत्येक १० लाखमा मृत्यु हुनेको अनुपातमा बंगलादेश, भारत, माल्दिभ्स, अफगानिस्थान र पाकिस्तानभन्दा नेपालमा कम रहेको छ । प्रत्येक १० लाखमा पिसीआर परीक्षणको संख्या अफगानिस्तानमा दुई हजार १३३, बंगलादेशमा छ हजार ११०, श्रीलंकामा छ हजार ३२७, पाकिस्तानमा सात हजार ६८६, भारतमा नौ हजार ७३० र नेपालमा १० हजार ६९५ छ ।

प्रतिक्रिया दिनुहोस्