Logo
Logo

वाणिज्य बैङ्कहरूको खुद नाफा बढ्यो


189
Shares

काठमाडौं । वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैङ्कहरूको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । वाणिज्य बैङ्कहरूले अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० वाणिज्य बैङ्कहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैङ्कहरूले ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

११ बैङ्कहरूको खुद नाफा बढेको छ भने ९ बैङ्कहरूको खुद नाफा घटेको छ । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा नेपाल बैङ्क लिमिटेड रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ५ लाख रुपैयाँ रहेको सो बैङ्कको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ हजार ३२.८० प्रतिशत बढेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ छ ।

त्यसैगरी, समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट बैङ्कले खुद नाफा ३८.६१ प्रतिशत बढेको छ । भने, ग्लोबल आइएमईले ३७.१२ प्रतिशत बढाएको छ । सबैभन्दा कम वृद्धिदर भने लक्ष्मी सनराइज बैङ्कको रहेको छ । सो बैङ्कको खुद नाफा समीक्षा अवधिमा २.२४ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा एनआईसी एशिया बैङ्कको खुद नाफा भने घटेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैङ्कले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड ६७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जुन समीक्षा अवधिमा ९१.८१ प्रतिशत घटेको हो । त्यसैगरी, समीक्षा अवधिमा हिमालयन बैङ्कको खुद नाफा ७४.३३ प्रतिशत घटेको छ भने कुमारी बैङ्कको खुद नाफा ७२.८५ प्रतिशत घटेको छ ।

रकमका आधारमा नबिल बैङ्कले तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशत मात्र बढी हो । नबिल बैङ्कलाई पछाएको नेपाल इन्भेष्टमेन्ट बैङ्क र ग्लोबल आइएमई बैङ्क दुवैले साढे ४ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन्।

सो अवधिसम्ममा एनआईसी एशिया बैङ्कले सबैभन्दा कम नाफा कमाएको छ । सो बैङ्कले तेस्रो त्रैमाससम्ममा १५ करोड ६७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्