काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक आज बसेको छ। बैठकले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट बिजुली बजारतर्फ जान लागेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरबार परिसरमै गिरफ्तार गर्नु गम्भीर आपत्तिजनक र दुर्भाग्यपूर्ण ठहर गरेको छ ।

यस्तै, राष्ट्रिय युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री र उत्पीडित उत्थान सङ्गठन अध्यक्ष अमर आर्य पनि आज पक्राउ परेका छन् । राप्रपाले सरकारको यो कदमलाई अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाज दबाउने निरङ्कुश चरित्रको रूपमा व्याख्या गरेको छ ।
प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जाँदै गरेका नेताहरूमाथि गरिएको गिरफ्तारीको कडा निन्दा गर्दै तुरुन्त रिहाइको माग गरिएको छ । साथै, संविधान प्रदत्त स्वतन्त्रता कुण्ठित गर्ने प्रयासको विरोध गर्दै राप्रपाले आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
राप्रपाले राजसंस्था पुनःस्थापना, हिन्दू राष्ट्र घोषणालगायतका मुद्दामा आफ्नो आन्दोलन अझ दृढ बनाउने बताएको छ ।











