
काठमाडौं । बेपत्ता र सत्यनिरुपण आयोगमा १० पदाधिकारीका लागि ११० जनाको आवेदन परेको छ । बेपत्ता पारिएको व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य गरी १० जना पदाधिकारीका लागि ११० जनाको निवेदन परेको हो ।
जसमा अध्यक्ष तथा सदस्यका लागि व्यक्तिगत ८० र संस्थागत रूपमा ३० जनाको आवेदन परेको सिफारिस समितिको सचिवालयले जनाएको छ । प्राप्त आवेदनलाई आज कानुन मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी भएको सिफारिस समितिकी प्रवक्ता डा. लिली थापाले जानकारी दिइन् ।
समितिले दुवै आयोगको अध्यक्ष तथा सदस्यका लागि इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम आवेदन फाराम भरी १० दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न भनेको थियो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ अनुसार दुवै आयोगमा आयोगमा अध्यक्षसहित पाँच–पाँच सदस्य रहने व्यवस्था छ ।











