Logo
Logo

नहरमा पानी छाडिएपछि कृषक खुशी


- दृष्टि न्युज/संवाददाता

0
Shares

तानसेन, ४ साउन । पाल्पाको रामपुर नगरपालिका–१० गेझामा निर्माण गरिएको नहरबाट सिँचाइ शुरु भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा निर्माण गरिएको बर्दलेफाँट सिँचाइ आयोजनाको नहरमा शनिबारदेखि पानी खोलेर सिँचाइ शुरु भएको हो ।
प्रदेशसभा सदस्य युवराज खनालले रामपुर–१० को खेतीयोग्य जमिन सिँचाइ अभावमा वर्षेनी कृषकलाई समस्या भएको हुँदा नहर निर्माण गरिएको बताए । नहरको बाँधमा पूजा गरेर पानी सञ्चालन गर्ने क्रममा उहाँले सिँचाइ सुविधा पुगेपछि अब धान, मकै, गहुँ, तोरीलगायत तरकारीबालीसमेत सिँचाइ गरेर मनग्य आम्दानी लिन कृषकलाई अनुरोध गरेका छन् ।
तोकिएको समयभन्दा पाँच महिनाअघि नै नहरको निर्माण सम्पन्न भएको हो । नहरमा पानी छोड्न शुरु भएपछि धान रोपाइँमा सहज भएपछि कृषक औधी खुशी छन् । ‘कहिले पहिरो, कहिले पानी सानो आउने बीचमै चुहिएर खेतसम्म पु¥याउनै समस्या थियो, अब सहज हुने भयो’, नहरका उपभोक्ता केदारराज पाण्डेले भने ।
केही आकाशको पानीको भर तथा केही खोल्साका पानी खेतमा पु¥याएर फ्याट्टफुट्ट रोपाइँ शुरु गरेका कृषकले अब भने सिँचाइ सुविधा हुने भएपछि ढुक्कले रोपाइँ थाल्ने समितिले जनाएको छ । साउन महिनाको अन्तिम सातासम्मनै रोपाइँ हुने यस क्षेत्रका टारीखेतहरुमा अहिले रोपाइँ चलिरहेको छ । ‘हिउँद तथा वर्षात्को समयमा कुलो पहिरो गएर हैरान थियो, रोपाइँको समयमा नहरमा पानी सञ्चालन भयो यो भन्दा खुशी के हुन्छ ?’ कृषक भक्तबहादुर सिञ्जालीको भनाइ छ ।
रामपुर–१० को झ्याम्मखोलामा बाँध बाधेर एक्लाचौर, राहुडाँडा, मनभागा, सानोगेझा, ठूलोगेझा, गोकर्णे हँुदै बर्दलेसम्म पानी पु¥याएपछि रोपाइँ थालिने बर्दलेफाँट जलउपभोक्ता समितिले जनाएको छ । नहरबाट आउने पानीबाट बर्दलेको १०५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । करिव ४३२ घरधुरी उपभोक्ताले प्रत्यक्ष सिँचाइ सुविधा पाउने भएपछि उनीहरु खुशी भएका छन् ।
प्रदेश सरकारको रु चार करोड ९३ लाखमा ठेक्का आह्वान भएपछि केबिसी बिल्र्डस इको इञ्जीनियरिङ कम्पनी चितवनले ठेक्का पाएको थियो । कम्पनीले रु तीन करोड ९० लाखमा ठेक्का पाएलगत्तै काम थालेर समयअगावै सम्पन्न गरेको बर्दलेफाँट जलउपभोक्ता समितिका अध्यक्ष बैकुण्ठ खनालले जानकारी दिनुभयो । पाँच शाखा तथा पाँच ढोका रहेको नहरको स्थानीय नागरिकको करिब रु १५ लाख ४४ हजार ७२४ बराबरको जनश्रमदान तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्