काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पनि अनुसन्धान अघि बढाएको छ । अहिले उनी काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका छन् ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्नता, प्रहरीको ज्यान मार्ने प्रयास, र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा उनीमाथि पहिले नै मुद्दा चलिरहेको छ । यसैबीच, राष्ट्र बैंकको आग्रहमा सीआईबीले बैङ्किङ कसुरसम्बन्धी अर्को मुद्दामा अनुसन्धान अघि बढाएको हो ।
सीआईबी प्रवक्ता एसपी सुधिरराज शाहीका अनुसार, प्रसाईँविरुद्ध बैङ्किङ अपराधको आरोपमा अर्को पक्राउ पुर्जी जारी गरिएको छ । उनीमाथि होटल, अस्पताल, र अन्य व्यवसायको नाममा लिएको अर्बौँ ऋण दुरूपयोग गरेको आरोप लागेको छ ।
प्रसाईँले चैत १४ गते ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन’ समितिमार्फत ‘जनकमाण्डर’ घोषणा गरेका थिए । भोलिपल्ट तीनकुनेमा आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।











