Logo
Logo

नेपाल र चीनबीच स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल


378
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरण र चीनको सिचुवान प्रान्तको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनबीच आज छेङ्दुमा स्वास्थ्य बिमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल र उपमहानिर्देशक झाङ हेफेङको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच स्वास्थ्य बिमा प्रणाली, नीतिगत संरचना, बिमा सेवा पहुँच, र डिजिटल प्रविधिको उपयोगलगायतका विविध विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य बीमाको दीगो बनाउने उपाय, भुक्तानी प्रणाली सुधार, निजी तथा सार्वजनिक स्वास्थ्य बिमा योजनाबीच सहकार्य, पारदर्शिता सुनिश्चित गर्ने विधि, र नागरिकमैत्री सेवाका उपायहरूबारे गहन छलफल भएको थियो । साथै, बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने र डिजिटल माध्यमबाट बिमा सेवा प्रभावकारी बनाउने विषय पनि उठाइएको थियो ।

छलफलका क्रममा उपमहानिर्देशक झाङ हेफेङले सिचुवान प्रान्तमा स्वास्थ्य सुरक्षालाई तीन तहमा वर्गीकरण गरिएको जानकारी दिए । पहिलो तहमा आधारभूत स्वास्थ्य सेवा, दोस्रो तहमा घातक रोगका लागि बिमा कभरेज, र तेस्रो तहमा मेडिकल एसिस्टेन्स सुविधा रहेको उनले बताए । उनले संस्थाको वित्तीय अवस्थाको आधारमा सेवा सुविधा थप गरिने तथा गलत तथा फर्जी दाबी रोक्न कडा आन्तरिक नियन्त्रण प्रणाली अपनाइएको जानकारी दिए ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालको स्वास्थ्य बिमा प्रणाली सुदृढ गर्न सिचुवानको अनुभव उपयोगी हुने बताए । उनले सरकारी र निजी क्षेत्रका योजनाबीचको समन्वय र दीगो स्वास्थ्य सुरक्षा प्रणाली विकासमा चिनियाँ अभ्यासबाट पाठ सिकिने विश्वास व्यक्त गरे ।

छलफलमा नेपालबाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र छेङ्दुस्थित महावाणिज्यदूत सुरेश राउतको सहभागिता रहेको थियो । चीनबाट प्लानिङ, फाइनान्स एण्ड रेगुलेशन डिभिजन प्रमुख ली याजुन, बेनेफिट एण्ड सेक्युरिटी डिभिजन प्रमुख ली रुई, मेडिकल एण्ड फर्मास्युटिकल सर्भिसेस् म्यानेजमेन्ट प्रमुख वाङ यिगो, अपरेशनल गाइडेन्स डिभिजन प्रमुख लियो जेङ्कुई, र मेडिकल प्राइसेस एण्ड प्रोक्युरमेन्ट डिभिजनका उपप्रमुख जियोङ वेङविङ सहभागी थिए ।

यस किसिमको अन्तर्राष्ट्रिय सहकार्यबाट स्वास्थ्य बिमा प्रणाली सुदृढ हुने र नागरिकहरूलाई गुणस्तरीय तथा समावेशी सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्