
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु भएको छ ।
स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गएराति मादक पदार्थ सेवन गरी चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते भएको शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएको थियो । तर, उपचारका क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएको स्थानीय सुकबहादुर नेपालीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











