काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री बन्नेहरूले काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरेका छन् । मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् ।

गौतमले भने, ‘प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुपर्यो । यदि समस्याको समाधान गर्न सकेनन् भने यिनीहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यिनीहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ ।’
उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढङ्गले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने बताए । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नु आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्यो । त्यसपछि बसेर योजना बनाउनुपर्यो । पिउने पानीदेखि विद्यालयसम्म जतिपनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुँदैन । ’











