Logo
Logo

बाहिर हल्ला गरिएजस्तो हामी सहमत छैनौँ : प्रचण्ड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई आफूले समर्थन नगरेको बताएका छन् । आइतबार आफ्नै निवास खुमलटारमा सचिवालय तथा स्थायी कमिटीका सदस्यहरुसँग छलफलमा क्रममा उनले यस्तो स्पष्टिकरण दिएका हुन् ।
शनिबार सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले मंसिरमा महाधिवेश प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा अध्यक्ष प्रचण्ड सहमत भएको जनाइएको थियो ।
प्रधानमन्त्री ओलीले नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेपछि असन्तुष्ट सचिवालयका चार नेतालाई अध्यक्ष प्रचण्डले आइतबार बिहान खुमलटार बोलाएका थिए । शनिबारको सचिवालय बैठकमा ओलीको प्रस्तावलाई लिएर वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।
नेकपामा एक स्थायी कमिटि सदस्यका अनुसार अध्यक्ष प्रचण्डले महाधिवेशनको प्रस्तावलाई अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न भएको बताएका छन् । उनका अनुसार प्रचण्डले सामूहिक रुपमा कमिटीको निर्णयअनुसार अगाडि बढ्ने बताएका छन् । अध्यक्ष दाहालको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘बाहिर सहमति भयो भनेर हल्ला गरियो, तर, हामी त्यसमा सहमत छैनौँ ।’
खुमलटार बैठकमा वरिष्ठ नेताद्वय नेपाल र खनाल, प्रवक्ता श्रेष्ठ थिए । दाहालको सचिवालयले शनिबार राति नै कुनै सहमति नभएको बताएको थियो । यसअघि आफ्नो गठबन्धनमा रहेका सचिवालयका अरु नेताहरुसँग कुनै परामर्श नगरी ओलीसँग मिलेर आएको भन्दै असन्तुष्ट बनेका सचिवालयका चार नेतासहित स्थायी कमिटीका केही नेतालाई खुमलटार बोलाएर दाहालले आस्वस्त पार्ने कोशिस गरेका हुन् ।
आइतबार नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्टलगायत र दाहाल निकट स्थायी कमिटी सदस्य बर्षमान पुन, पम्फा भुसाल र देव गुरुङलगायत खुमलटार भेलामा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्