धरान । भारतको भीमनगरदेखि धरानसम्म चल्ने ऐतिहासिक रेल सेवालाई पुनः सञ्चालनमा ल्याउन कोशी प्रदेश सरकारलाई सुझाव दिइएको छ । वातावरण तथा पर्यटन विकास केन्द्र नामक संस्थाले पर्यटन प्रवर्द्धनका लागि यो प्रस्तावसहितको अवधारणा पत्र प्रदेश सरकारलाई बुझाएको हो ।

गत शुक्रवार केन्द्रका अध्यक्ष तथा मकाउका लागि पर्यटन प्रवर्द्धक आनन्द श्रेष्ठले कोशी प्रदेशका संस्कृति, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई भेटेर भीमनगर–धरान रेल सेवा पुनः सञ्चालनको प्रस्ताव पेश गरेका थिए । विराटनगरस्थित मन्त्रीको कार्यकक्षमा अवधारणा पत्र बुझाउँदै श्रेष्ठले भने, ‘रेलको भौतिक संरचना अहिले नरहे पनि रेल कुद्ने बाटो र अधिग्रहित जमिन अझै सुरक्षित अवस्थामा छन् । नयाँ संरचना निर्माण गरेर रेल पुनः सञ्चालन गर्न सकिन्छ भने कोशी प्रदेशको पर्यटन विकासमा नयाँ आयाम थपिनेछ ।’
अवधारणा पत्रमा धरानको सौन्दर्यीकरणका उपायसमेत उल्लेख गरिएको छ । श्रेष्ठका अनुसार कोशी प्रदेश सरकारले २०२५ लाई’पर्यटन वर्ष’ घोषणा गरिसकेको र यही वैशाख १८–१९ गते विराटनगरमा लगानी सम्मेलनको तयारी भइरहेको सन्दर्भमा यो अवधारणा निकै सान्दर्भिक छ ।
अवधारणा पत्र प्राप्त गर्दै मन्त्री मण्डलले बाल्यकालमा धरान नजिकै आफ्नो घरआँगनबाट सो रेल चलिरहेको हेरेको र त्यसमा चढेको स्मरण गर्दै उक्त रेल पुनः सञ्चालनको सम्भावनाबारे आफैँले पनि सोच बनाएको बताए । उनले भने, ‘संस्थागत रूपमा अवधारणा लिएर आउनु भएकोले अब यो विषयमा मुख्यमन्त्रीसमक्ष कुरा राख्नेछु। यो मिनि रेल सेवा पुनः सञ्चालन गर्न सकियो भने नेपालकै लागि ऐतिहासिक संरचना बन्नेछ ।’

इतिहास अनुसार वि.सं. १९५० तिर भण्टावारीस्थित सप्तकोशी पुल निर्माणको क्रममा भारतले धरानको सर्दु खोला आसपासको डाँडाबाट ढुङ्गा निकालेर झन्डै ४९ किलोमिटर लामो रेलमार्गमार्फत ओसार्ने व्यवस्था मिलाएको थियो । धरान–भण्टावारी रेल सेवा २०४५ सालसम्म सञ्चालनमा थियो । अहिले पनि धरान-१७ मा रहेको रेल स्टेशन क्षेत्रलाई ‘रेलवे’ भनेर चिनिन्छ ।
हाल सो रेलमार्गका लिग र संरचनाहरू चोरी भइसके पनि अधिग्रहण गरिएको जमिनहरू अझै यथावत् छन् । संरचनाको पुनः निर्माण र सुशोभन गरेर यो रेल सेवा पुनः सञ्चालन गरिएमा पर्यटकको आकर्षण मात्र होइन, ऐतिहासिक सम्पदाको संरक्षण समेत हुने विश्वास गरिएको छ ।











