काठाडौं । शिवाता लाभ फाउन्डेसनले स्थापनाको आठौँ वर्षगाँठको अवसरमा ‘शिवाता ३०’ प्रदर्शनी सुरु गरेको छ।
छोरीहरूको शिक्षामा योगदान पुर्याउँदै आएको फाउन्डेसनले मंगलबारदेखि काठमाडौंमा पाँच दिने प्रदर्शनी आयोजना गरेको हो । युवाहरूलाई प्रोत्साहन र प्रेरणा दिने उद्देश्यले आयोजित यो प्रदर्शनी उपाध्याय कला प्रतिष्ठानको सहकार्य रहेको छ ।

सन् २०१६ मा ‘मेनेन्जाइटिस–बी’ रोगका कारण २० वर्षीया छोरी शिवातालाई गुमाएपछि रागिनीले उनको जन्मदिनको अवसरमा यो फाउन्डेसन स्थापना गरेकी थिइन् । उनको सम्झनामा हरेक वर्ष यो प्रदर्शनीमार्फत छोरीहरू र युवाहरूलाई हौसला प्रदान गर्दै आएको फाउन्डेसनकी अध्यक्ष रागिनी उपाध्यायले बताइने ।
प्रदर्शनीको उद्घाटन गर्दै उनले भनिन्, ‘शिवाता आज यस संसारमा भएको भए ३० वर्षको पुग्थिन् । उनीजस्ता थुप्रै छोरीहरू र युवाहरूलाई हौसला प्रदान गर्न वार्षिक रूपमा यस प्रदर्शनीको आयोजना गर्दै आएको छौँ । यो कार्यक्रम पनि यसैको निरन्तरता हो ।’
प्रदर्शनीमा अमन नेपाली, अर्जुन बस्नेत, अजिज भुँजेल, अमन रौनियार, अञ्जलि तामाङ, विदुर पौडेल, विनय रिमाल, छिरिङ डुके विष्ट, डेभिड महर्जन, दीपिका राई, जोहेब नकर्मी, करिमा जोशी, काजल कुमारी, कन्चन महत, क्रिस्टिना डङ्गोल, नीति पासवान, निदा सिद्धिकी, नेहा महर्जन, प्रलिस्ट महर्जन र प्रतीक मानन्धरको सहभागिता रहेको छ।

त्यस्तै प्रदर्शनीमा पुरुषोत्तम थारु, प्रतिभा खडेका, रञ्जित कुँवर, रोनिसा श्रेष्ठ, स्मृति श्रेष्ठ, सागर रावल, शक्तिराज, सलोमी लिम्बू, शर्मिलादेवी तामाङ, रञ्जित कुँवर र सुस्मिता कुँवरको पनि सहभागिता रहेको छ ।
वैशाख १३ गतेसम्म चल्ने यो प्रदर्शनीले कला र शिक्षामार्फत सामाजिक सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ ।
फाउन्डेसनले गरिब, जेहेन्दार र पछाडि परेका समुदायका बालबालिकालाई शिक्षामा सहयोग गर्दै आएको छ भने प्राकृतिक विपत्ति र सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।











